काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन

सुरुङ्गा : पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालनमा आएको छ ।

सोमबारदेखि सञ्चालनमा आएको ‘एकीकृत जाँच एकाइ’मा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै स्थानबाट संयुक्त रूपमा यात्रुका सामानको परीक्षण गर्ने व्यवस्थाको शुभारम्भ गरेका हुन् ।

योसँगै सीमा सुरक्षा, भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि बन्द भएको ‘एकीकृत जाँच एकाइ’ झण्डै १० महिनापछि पुनः सञ्चालनमा आएको हो ।

मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा नाका भारतको पश्चिम बङ्गाल राज्यअन्तर्गत दार्जिलिङ जिल्लाको पानीट्याङ्कीसँग जोडिएको नेपालको व्यस्त अन्तरराष्ट्रिय प्रवेशद्वार हो । यस नाकाबाट दैनिक हजारौँ यात्रु आवतजावत तथा ठूलो परिमाणमा मालवस्तु ओसारपसार हुने भएकाले प्रभावकारी जाँच प्रणालीको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको थियो ।

यसअघि मेची भन्सार कार्यालय परिसरमा अत्याधुनिक ‘एक्स–रे’ मेसिनसहित एकद्वार भन्सार जाँच प्रणाली सञ्चालनमा थियो । भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीले एउटै स्थानबाट संयुक्त रूपमा निगरानी गर्दा चोरी–तस्करी नियन्त्रणमा सहयोग पुग्नुका साथै यात्रुले सहज सेवा पाउँदै आएका थिए ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा उक्त संरचनामा आगजनी भएपछि जाँच प्रणाली पूर्ण रूपमा प्रभावित भएको थियो । भवन तथा उपकरणमा क्षति पुगेपछि सम्बन्धित निकायले छुट्टाछुट्टै स्थानबाट चेकजाँच गर्दै आएका थिए । यसले यात्रुलाई पटक–पटक सामान देखाउनुपर्ने अवस्था सिर्जना गर्नुका साथै सुरक्षा निकायबीच समन्वयमा चुनौती उत्पन्न भएको थियो ।

उक्त एकाइ सञ्चालनमा आएको अवसरमा मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपाने, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक निशेष चापागाईं तथा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाका गणपति सशस्त्र प्रहरी उपरीक्षक विकास थापाले संयुक्तरूपमा इकाई सञ्चालनमा आएको घोषणा गरेका हुन् ।

हाल जाँचस्थलमा ‘एक्स–रे’ मेसिन भने जडान गरिएको छैन । सम्बन्धित निकायले आवश्यक प्रक्रिया पूरा गरी छिट्टै पुनः मेसिन सञ्चालनमा ल्याउने जानकारी दिएका छन् ।

सीमानाकामा एकीकृत जाँच प्रणाली पुनः सञ्चालनमा आएसँगै भन्सार छली, मूल्याङ्कन तथा अवैध ओसारपसार नियन्त्रणमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ । एउटै स्थानमा आवश्यक प्रक्रिया पूरा गर्न सकिने भएपछि समयको बचत हुनुका साथै प्रशासनिक झन्झटसमेत घट्ने मेची भन्सार प्रमुख न्यौपानेको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *