काठमाडौं । भदौ ९ गतेदेखि सुरु हुन गइरहेको १८औँ संस्करणको नाडा अटो शोमा विभिन्न ब्राण्डले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने भएका छन्। यस वर्षको अटो शो नयाँ उत्पादन र विद्युतीय दुईपांग्रे सवारीको प्रदर्शनीका हिसाबले विशेष हुने देखिएको छ।
नेपाली श्रम, सीप र पुँजीमा तयार भएको ब्राण्ड यात्रीले पहिलो ‘मेड इन नेपाल’ इलेक्ट्रिक स्कुटर ‘यात्री पी टू’ सार्वजनिक गर्दैछ। सिप्रदी यात्री प्रालिले नाडा अटो शोबाटै उक्त स्कुटरको बिक्री सुरु गर्ने जनाएको छ। नेपालमै उत्पादन गरिएको स्कुटरलाई नाडा अटो शोको ‘मेड इन नेपाल’ पभिलियनमा प्रदर्शन गरिनेछ।
नाडा अटो शोमा ११ कम्पनीका १३ ब्राण्डले दुईपांग्रे सवारी साधन प्रदर्शनीमा राख्नेछन्। ती ब्राण्डमार्फत डेढ दर्जनभन्दा बढी नयाँ मोटरसाइकल तथा स्कुटर अवलोकन गर्न सकिनेछ।
एमएडब्ल्यू राइज प्रालिअन्तर्गतको यामाहा नेपालले ‘यामाहा एक्सएसआर’सहित चार नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले अटो शोमा आउने अवलोकनकर्तालाई लक्षित गर्दै आफ्नो स्टललाई आकर्षक बनाइरहेको जनाएको छ। नयाँ मोडलको मूल्य तथा अन्य विवरण अटो शोको पहिलो दिन सार्वजनिक गरिनेछ।
त्यस्तै, सीजी मोटर्सले हिरो ब्राण्डका तीन नयाँ मोडल प्रदर्शनीमा राख्ने भएको छ। कम्पनीले १६० सीसीको जुम स्कुटर, १२५ सीसीको ग्ल्यामर एक्स मोटरसाइकल र २५० सीसीको एक्सट्रिम मोटरसाइकल नाडा अटो शोबाट बिक्री सुरु गर्ने जनाएको छ।
सीजी मोटर्सकै विद्युतीय ब्राण्ड भिडाले ‘भीएक्स जेड’ स्कुटर र ‘केथ्री डट मिनी’ मोटरसाइकलसमेत प्रदर्शनीमा राख्नेछ।
मिचे अटो नेपाल प्रालिले पाँच नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले पाँचवटा विद्युतीय स्कुटरसहित अटो शोमा सहभागिता जनाउने भएको हो। मिचे अटोले नेपालमै विद्युतीय दुईपांग्रे सवारी साधन एसेम्बल गर्दै आएको छ।
त्यस्तै, रोयल इनफिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले पनि नयाँ मोडल प्रदर्शनीमा राख्ने भएको छ। कम्पनीले अटो शो सुरु हुनुभन्दा दुई दिनअघि बजारमा ल्याएको नयाँ क्लासिक मोडललाई प्रदर्शनीमा राख्ने जनाएको छ।
यस वर्षको नाडा अटो शोमा क्यूजे मोटर्स, जोनसेन, भेस्पा, अप्रिलिया, रोयल इनफिल्ड, एम्पियर, रिभोल्ट र मेटा ईभी लगायतका दुईपांग्रे ब्राण्डको समेत सक्रिय सहभागिता रहनेछ।
नयाँ उत्पादन र प्रविधिको प्रमुख मञ्च बन्दै नाडा अटो शो
१८औँ नाडा अटो शोमा ठूलो संख्यामा नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक हुनुले नेपाली दुईपांग्रे सवारी बजारमा नयाँ उत्पादन, विद्युतीय सवारी र स्थानीय एसेम्बलीप्रति बढ्दो आकर्षणलाई देखाएको छ।
एउटै स्थानमा विभिन्न ब्राण्डका नयाँ मोडल अवलोकन तथा खरिद गर्न सकिने भएकाले नाडा अटो शो दुईपांग्रे सवारीका पारखी तथा खरिदकर्ताका लागि महत्वपूर्ण गन्तव्य बन्ने अपेक्षा गरिएको छ।
