‘म एक्लै काफी छु’ भन्ने घमण्ड नपाल्न सरकारलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले सरकारलाई ‘म एक्लै काफी छु’ भन्ने घमण्ड नपाल्न आग्रह गरेको छ । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले उपनेता पद्मा अर्यालले विपद् राजनीतिक स्वार्थभन्दा माथिको विषय भएको बताएकी हुन् ।

उनले विपद्पछि राहत, खोज तथा उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन ‘सर्वदलीय विशेष संसदीय समिति’ गठन गर्न माग पनि गरेकी छिन् ।

विपद्मा सबै पक्षको समन्वय र सहकार्य अनिवार्य रहेको उनको भनाइ छ । अर्यालले विपद् व्यवस्थापनका लागि तीन तहका सरकार, राजनीतिक दल, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायबीच प्रभावकारी समन्वय हुन नसकेको बताइन्।

उद्धार कार्यमा जनशक्ति र आवश्यक साधनस्रोतको परिचालनमा कमजोरी देखिएको उनको भनाइ छ । उनले भनिन्, ‘आवश्यक परे अन्य मुलुकसँग सहयोग लिन सरकार हिचकिचाउनु हुँदैन।’

उनले प्रधानमन्त्रीको नाममा सञ्चालित सामाजिक सञ्जालका आईडीबाट नागरिकसँग विवाद र गालीगलौज भइरहेको भन्दै उनले त्यस्तो कार्य तत्काल बन्द गर्न वा आधिकारिक आईडीबाहेकका अन्य आईडी बन्द गराउन आग्रह पनि गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *