सुर्खेत । सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका—४ अमलाचौरका ३० वर्षीय विजय विश्वकर्मा रहेको सल्यान प्रहरीले जनाएको छ ।उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा परी ३ जना घाइते भएका छन् । घाइते हुनेमा रुकुम पूर्वकै सिस्ने गाउँपालिका–२ का २२ वर्षीया सुष्मी रोका, उनकी २ वर्षीया छोरी सफलता केसी र वडा नम्बर ४ की ३८ वर्षीया ललिता केसी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, रुकुम पूर्वबाट दाङतर्फ जाँदै गरेको ग १ ज ५६६१ नम्बरको बोलेरो पिकअप जिप बुधबार बिहान साढे ५ बजेतिर कपुरकोट गाउँपालिका—३ स्थित चोर खोलामा दुर्घटनामा परेको हो ।
दुर्घटना लगत्तै प्रहरी चौकी कपुरकोटबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि स्थानीय कपुरकोट स्वास्थ्य चौकी पठाएको थियो । त्यहाँ प्राथमिक उपचार पछि थप उपचारका लागि बिहान ८ बजेतिर बजे सबै घाइतेहरूलाई प्रादेशिक अस्पताल तुलसीपुर, दाङ रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
