काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। धनुषा, मोरङ, अर्घाखाँची र सर्लाहीमा भएका यी दुर्घटनामा दुईजना मोटरसाइकल चालक, एकजना ट्याक्टर चालक र एकजना साइकलयात्रीले ज्यान गुमाएका हुन्। धनुषाको सबैला नगरपालिका–९ स्थित सडकमा सोमबार बिहान मोटरसाइकललाई गाडीले ठक्कर दिँदा ३० वर्षीय सरोज यादवको मृत्यु भएको छ। २६७७ नम्बरको मोटरसाइकललाई ०१०४ नम्बरको गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा ज्यान गएको हो। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ।
यस्तै, मोरङको जहदा गाउँपालिका–१ भुटाहामा भारतीय नम्बर प्लेटको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा भारतीय नागरिक ३५ वर्षीय श्रवण राजवंशीको घटनास्थलमै मृत्यु भएको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ कोलडाँडामा लु ५ त १७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक पन्तराम चौधरीको ज्यान गएको छ। कपिलवस्तु घर भएका ४० वर्षीय चौधरीको बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
सर्लाहीको कविलासी नगरपालिका–८ मा सोमबार बिहान मोटरसाइकलले साइकललाई ठक्कर दिँदा ६५ वर्षीय राम नरेश महतोको मृत्यु भएको छ। ७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ।
