उपत्यकाभर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौं जिल्ला समितिले उपत्यकाव्यापी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता गर्ने भएको छ।

बिहीबार काठमाडौंको भेमसेनगोलास्थित समिति कार्यालयमा पत्रकार सम्मेलन गरी जिल्ला अध्यक्ष अमृतकुमार खड्काले विद्यार्थीको सर्वाङ्गीण विकाससँगै मौलिक भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।

कार्यक्रम संयोजक तथा कोषाध्यक्ष टंकबहादुर थापाका अनुसार प्रतियोगितामा काठमाडौं उपत्यकाका ५१ विद्यालयले सहभागिता जनाउनेछन्। सातौँ संस्करणको यो प्रतियोगिता आगामी भाद्र ८ गते (आइतबार) नेपाल प्रज्ञा भवन, कमलादीमा हुने छ। उद्घाटन कुनै एक मन्त्रीद्वारा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी विद्यालयले रु. ५,००० प्रवेश शुल्क बुझाउनुपर्नेछ। कक्षा ३ देखि १० सम्मका विद्यार्थीलाई समेटी ८ देखि २४ जनासम्मको समूह बनाएर बढीमा पाँच मिनेटको नृत्य प्रस्तुत गर्नुपर्नेछ। विद्यालय बाहिरका कलाकारलाई सहभागी गराउन नपाइने र मौलिक नेपाली लोकनृत्य मात्र प्रस्तुत गर्न पाइने आयोजकले स्पष्ट पारेका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः रु. २५,०००, रु. २०,००० र रु. १५,००० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। चौथोदेखि दशौँ स्थानसम्मका विद्यालयलाई पनि ट्रफी र प्रमाणपत्र दिइनेछ। साथै सर्वोत्कृष्ट भेषभूषा र सर्वोत्कृष्ट नृत्य निर्देशकलाई विशेष सम्मान प्रदान गरिनेछ। सहभागी सबै विद्यालय र विद्यार्थीलाई प्रमाणपत्र दिइनेछ।

प्रतियोगिताको मूल्याङ्कनका लागि पाँच जना लोक, संस्कृति, कला र नृत्य क्षेत्रका विज्ञ निर्णायक मण्डलमा रहनेछन्। निर्णायकको निर्णयलाई अन्तिम मानिनेछ।

यो प्रतियोगितालाई ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कूल तथा कलेज र डोंगफेग त्रीबेनी मोटोकर्पले प्रायोजन गरेका छन् भने काठमाडौं, कागेश्वरी, टोखा, गोकर्णेश्वर, बुढानिलकण्ठ, तारकेश्वर र नागार्जुन नगर समितिहरुको प्रत्यक्ष सहयोग रहेको छ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष प्रेमकुमार भुजेल, समिर बास्तोला, नारायण तिमल्सीना, सचिव रामबाबु सेढाई, सहसचिव शिवराम गिरी, काठमाडौँ महानगर समिति सचिवलगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *