वीरगञ्जमा श्रोत नखुलेको १४ लाख बढी हुण्डी रकमसहित दुई जना पक्राउ

वीरगञ्ज, भदौ ५। पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–२, घुसुकपुर इदगाह चोक नजिक श्रोत नखुलेको १४ लाख १३ हजार ५ सय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।विशेष सूचनाका आधारमा बुधबार दिउँसो करिब ४:२० बजे भारतिय नम्बर प्लेटको मोटरसाइकल BR05 AB 7761 र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा रकम फेला परेको हो।पक्राउ पर्नेमा वीरगञ्ज–२, घुसुकपुरका ३९ वर्षीय संजय कुमार साह र बारा, महागढीमाई–४, बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन्। उनीहरूले चलाइ ल्याएको मोटरसाइकलमा फल्स सिलिङ (गुप्त भाग) बनाएर रकम लुकाइ ल्याएको प्रहरीले जनाएको छ।जाँच क्रममा १००० दरका नोट १००० थान (जम्मा रु.१० लाख) र ५०० दरका नोट ८२७ थान (जम्मा रु.४ लाख १३ हजार ५ सय) गरी कुल रु.१४ लाख १३ हजार ५ सय बरामद गरिएको हो।उनीहरूलाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(क) बमोजिम हुण्डी सम्बन्धी कारोबार मुद्दामा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *