काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले स्वीकृत तथा कानुन विपरीत निर्धारण गरिएको भन्दा बढी भाडादर असुल्ने यातायात व्यवसायीविरुद्ध तत्काल कडा कारबाही गरिने चेतावनी दिएका छन्।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले यातायात क्षेत्रमा देखिएका अनियमितता, मनपरी मूल्यवृद्धि र यात्रु शोषणका घटनाप्रति सरकार गम्भीर रहेको बताएका हुन्। उनले यातायात भाडा तोकिएकै दरअनुसार लिनुपर्ने स्पष्ट गर्दै यात्रुबाट अवैध रूपमा अतिरिक्त रकम असुले तत्काल कानूनी कारबाही गरिने बताए।
मन्त्री घिसिङका अनुसार यातायात क्षेत्रमा देखिएको अव्यवस्था नियन्त्रण गर्न विशेष अनुगमन टोली परिचालन गरिनेछ। “दशैं–तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा यात्रुहरूलाई ठग्ने प्रवृत्तिलाई सरकारले कदापि सहने छैन,” उनले भने, “जो कोही व्यवसायीले नियम मिचे भने तुरुन्तै दण्डनीय कारबाही हुनेछ।”
उनले यातायात व्यवस्था विभाग र प्रहरी प्रशासनलाई यात्रुहरूबाट प्राप्त हुने उजुरीमा तत्काल प्रतिक्रिया दिन र प्रभावकारी निगरानी राख्न निर्देशन दिएका छन्। साथै यात्रुहरूले पनि तोकिएकोभन्दा बढी भाडा असुलिएमा प्रमाणसहित उजुरी गर्न आग्रह गरेका छन्।
सरकारले सार्वजनिक यातायात भाडा वृद्धि तथा निर्धारणमा स्पष्ट मापदण्ड तोकेको छ। यसअघि पनि दशैंतिहारमा घर फर्किने यात्रुहरूमाथि मनपरी भाडा असुल्ने व्यवसायीहरूविरुद्ध कारबाही गरिँदै आएको छ।
मन्त्री घिसिङले निष्पक्ष र नियमित यातायात सेवामार्फत यात्रुहरूलाई सहजता दिलाउने सरकारको प्रतिबद्धता दोहोर्याएका छन्।
निर्धारित भाडादरभन्दा बढी असुले यातायात व्यवसायीमाथि कडा कारबाही हुने
