विकृति बोकेर माधव नेपाल माओवादीमा गए : झलनाथ खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी पुनर्गठन गर्ने बताएका छन् । शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि असहमत वरिष्ठ नेता खनालले अब मार्क्सवाद–लेनिनवादी पार्टी निर्माण गर्ने बताए ।

खनाललाई वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ, पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसैन, अशेष घिमिरे, दामोदर अर्याल, पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामालगायतको साथ छ । खनालले विकृति बोकेर अध्यक्ष माधव नेपाल माओवादीमा गएको आरोप पनि लगाए । पार्टी पुनर्गठन गरौँ भन्दा नेपालले नमानेको उनको भनाई छ ।

‘पुनर्गठन गर्न त माधवकुमार नेपालले मानेनन्। उनी त्यही दक्षिणपन्थी अवसरवादमा हिँड्न चाहे क्यारे। अनि जो विकार, विकृति सबै बोकेर भारी–तुम्बा बोकेर जान चाहे माधवजीले’ उनले भने, ‘मैले त पुनर्गठन गरौँ, रूपान्तरण गरौँ पहिला पार्टीलाई, अनि त्यसपछाडि एकीकरणको कुरा गरौँला। सबै वामपन्थीलाई एकताबद्ध बनाऊँ भनेकै हो। तर, मानेनन्।’ उनले तत्कालै आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन गर्ने स्पष्ट पार्दै पार्टीमा नयाँ व्यक्ति नेतृत्वमा आउन चाहेमा नेतृत्व हस्तान्तरण गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *