राष्ट्रिय सभाको नतिजा साँझ ५ बजेभित्र सार्वजनिक हुने : निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा आज साँझ ५ बजेभित्र सार्वजनिक भइसक्ने जानकारी दिएका छन् । उनका अनुसार मतदान अपराह्न ३ बजेसम्म हुनेछ र त्यसपछिको दुई घण्टाभित्र नतिजा आउनेछ ।

रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आज बिहान ९ बजेदेखि मतदान भइरहेको छ । कोशी प्रदेशको एक पद भने निर्विरोध भइसकेको छ । भण्डारीका अनुसार सबै प्रदेशमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन् । मतदान कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगर, महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर, भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा, प्रदेश निर्वाचन कार्यालय पोखरा, कर्मचारी मिलन केन्द्र दाङ, प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेत तथा प्रदेश निर्वाचन कार्यालय धनगढीमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *