युवामा बढ्दो निराशाको कारण खोज्न सरकार गम्भीर बन्नुपर्छ : सांसद राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले युवामा बढ्दै गएको निराशा र आत्मदाहका घटनाको कारण पहिचान गर्न सरकारले गम्भीर पहल गर्नुपर्ने बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले त्रिपुरेश्वरमा बसमा आगो लगाएर आत्मदाह गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पछिल्ला घटनाले सरकारलाई गम्भीर प्रश्न उठाएको बताए।

‘सबैभन्दा पहिला हिजो त्रिपुरेश्वरमा बसमा आगो लगाएर आत्मदाह गर्ने युवाप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु,’ उनले भने।राईले जेनजी आन्दोलनका क्रममा भएको ठूलो क्षतिपछि पनि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण हुन नसकेको भन्दै प्रश्न उठाए। नयाँ भविष्य निर्माणका लागि आन्दोलन गरेका युवामा अहिले पनि निराशा देखिनु गम्भीर विषय भएको उनको भनाइ थियो।

‘यस्तो परिस्थितिमा जसले युवाले नयाँ भविष्य कोर्नका निम्ति यत्रो आन्दोलन ग¥यो, तर हेर्नुस् त, हरेक मान्छेमा निराशा छ,’ उनले भने। पछिल्लो समय आत्मदाहका घटना देखिन थालेको भन्दै उनले यस्ता घटना बाहिर देखिएका केही प्रतिनिधि घटना मात्र हुन सक्ने बताए।

‘हिजोअस्ति एकजना मोटरसाइकल राइडर भाइले आत्मदाह गरे, हिजो एकजना बस चालकले आत्मदाह गरे, अनि यी त देखिएका पात्रहरू मात्रै हुन्, नदेखिएका कति होलान्’ उनले प्रश्न गरे।

सांसद राईले युवा तथा आम नागरिकमा निराशा पैदा हुनुका कारणबारे सरकारले गम्भीर अध्ययन गर्नुपर्ने बताए। उनले नीतिगत समस्या, ट्राफिक प्रहरीसँग सम्बन्धित समस्या, आत्मदाह तथा आत्महत्याका घटना र सडक तथा भौतिक पूर्वाधारको अवस्थालाई छुट्टाछुट्टै कोणबाट अध्ययन गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘कहाँ–कहाँ हामीले तपाईंको त्रुटि ग¥यौँ, कहाँ–कहाँ हाम्रा समस्याहरू छन्, नीतिगत समस्या हो किरु के–के समस्याहरू छन् ? कम्तीमा यस सम्बन्धी सरकारले चाहिँ विशेष पहलकदमी गरोस् भनेर म भन्न चाहन्छु।’

हिजोको घटनाका सम्बन्धमा सरकारसँग चारवटा प्रश्न रहेको राईले बताए। उनका अनुसार पहिलो नीतिगत समस्या हो कि होइन भन्ने विषयमा अध्ययन गर्नुपर्ने, दोस्रो ट्राफिक प्रहरीसँग सम्बन्धित समस्या भए गहिरो अनुसन्धान गर्नुपर्ने, तेस्रो आत्मदाह तथा आत्महत्याका घटना किन भइरहेका छन् भन्ने विषयमा अध्ययन गर्नुपर्ने र चौथो सडक, सामाजिक संरचना तथा भौतिक विकासको अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *