काठमाडौँ । चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी) बिच चार बुँदे समझदारी भएको छ । बुधबार नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित एक कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी र चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी) ले समझदारीपत्रमा हस्ताक्षर गरे ।
समझदारीपत्रमा नेपालले कान्स फिल्म फेस्टिभल सन् २०२६ मा आधिकारिक रूपमा सहभागिता जनाउने, पोखरामा अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल आयोजना गर्ने, अडियो–भिजुअल स्टोरी टेलिङ अभियान सञ्चालन गर्ने तथा चलचित्र पर्यटनसम्बन्धी प्रवर्द्धन सामग्री उत्पादन गर्ने सहमति भएको हो ।
बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सो समझदारी आर्थिक वर्ष २०८२/८३ का स्वीकृत कार्यक्रम तथा बजेट अन्तर्गत गरिएको जानकारी दिए । कार्यक्रममा बोर्डका अध्यक्ष डिसीले सहकार्यले प्रत्येक वर्ष कान्स फिल्म फेस्टिभलमा नेपालको उपस्थिति सुनिश्चित भएको बताए । उनले चलचित्र छायाङ्कन भइसकेपछि ती स्थानहरू स्वतः पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धित हुने बताउँदै उनले भने– ‘नेपाललाई पर्यटन प्रधान देश बनाउन हामी हातेमालो गरेर अघि बढ्नेछौँ ।’
त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाललाई ल्यान्ड अफ मेमोरेबल स्टोरिजका रूपमा स्थापित गर्ने लक्ष्यसहित चलचित्र पर्यटनलाई प्राथमिकतामा राखिएको बताए ।
उनले चलचित्र छायाङ्कनका लागि आवश्यक नीतिगत सुधार, अनुमति प्रक्रियाको सरलीकरण र सहजीकरण आवश्यक रहेको उल्लेख गर्दै चलचित्र बोर्डसँगको सहकार्यले उच्च सम्भावना बोकेका गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय बजारमा अघि बढाउन मद्दत पुग्ने बताए ।
