काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर गरिएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाइ पूरा भएन।
सुनुवाइ नसकिएपछि अदालतले मुद्दालाई पुनः ‘हेर्दाहेर्दै’मा राख्दै आजका लागि सारेको छ। सोमबार न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यस विषयमा बहस भएको थियो। तर समय अभावका कारण बहस टुंगिन नसकेपछि अर्को सुनुवाइ मंगलबारका लागि तय गरिएको हो।
यसअघि आइतबार पनि सोही मुद्दामा प्रारम्भिक सुनुवाइ भएको थियो। त्यतिबेला पनि बहस अधुरो रहेपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेर सोमबारका लागि सारिएको थियो।
