इरानको खार्ग टापु सजिलै कब्जा गर्न सकिन्छ : ट्रम्प

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापु सजिलै कब्जा गर्न सकिने बताएका छन् । फाइनान्सियल टाइम्सको अन्तवार्तामा उनले सो अभिव्यक्ति दिएका हुन् ।

आफूलाई इरानको तेल लिन मन लागेको तर अमेरिकाभित्रका केही मूर्ख मानिसहरुले किन त्यसो गरेको भनेर आफूलाई प्रश्न गरिरहेको पनि उनले बताएका छन् ।

साँचो भन्नुपर्दा, मेरो मनमा लागेको कुरा भनेको इरानको तेल लिनु हो तर अमेरिकाभित्रका केही मूर्ख मानिसहरू भन्छन्– तिमी किन त्यसो गरिरहेका छौ ? ती मूर्ख मानिसहरू हुन्,’ उनले भनेका छन् ।

ट्रम्पले यस्तो अभिव्यक्तिबाट खार्ग टापु कब्जा गर्न सकिने संकेत गरेको बीबीसीले जनाएको छ । ‘सायद हामी खार्ग टापु लिन्छौँ, सायद लिँदैनौँ, हामीसँग धेरै विकल्प छन्,’ उनले अन्तर्वार्तामा भनेका छन्, ‘यसको अर्थ हामी केही समय त्यहाँ (खार्ग टापुमा) बस्नुपर्ने हुन्छ ।’

टापुमा इरानको सुरक्षा व्यवस्थाबारे प्रश्न गर्दा उनले भनेकाछन्, ‘मलाई लाग्दैन त्यहाँ कुनै सुरक्षा छ । हामीले सजिलै नियन्त्रणमा लिन सक्छौँ ।’

अमेरिकाका थप ३ हजार ५०० अमेरिकी सैनिकहरू मध्यपूर्वमा पुगेको बेला राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आउनुलाई अर्थपूर्ण मानिएको छ ।
खार्ग टापु इरानको दक्षिणी भागमा पर्सियन खाडीमा अवस्थित सानो तर अत्यन्तै रणनीतिक महत्वको टापु हो । यो विशेषगरी इरानको तेल निर्यातको मुख्य केन्द्रका रूपमा परिचित छ ।

इरानको सबैभन्दा ठूलो तेल निर्यात टर्मिनलको रुपमा परिचित यो टापुबाट इरानको अधिकांश कच्चा तेल अन्तर्राष्ट्रिय बजारमा पठाइन्छ । त्यसैले यसलाई इरानको ऊर्जा अर्थतन्त्रको लाइफलाइन जस्तै मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *