पर्यटकको सम्मान र ठमेलको सुरक्षा नै हाम्रो प्राथमिकता’ : उमेदवार आलोक

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आगामी असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिएका सोमई प्रसाद बानियाँ (आलोक)ले ठमेललाई स्वच्छ, सुरक्षित र पर्यटकमैत्री गन्तव्य बनाउने एजेन्डालाई आफ्नो चुनावी अभियानको केन्द्रमा राखेका छन्।


पर्यटनको मुटु मानिने ठमेलको भविष्य व्यवसायी, स्थानीय समुदाय र पर्यटकबीचको विश्वासमा निर्भर रहने उल्लेख गर्दै बानियाँले परिषद्ले अब केवल औपचारिक कार्यक्रम गर्ने संस्थाका रूपमा होइन, व्यवसायीका वास्तविक समस्या समाधान गर्ने साझा मञ्चका रूपमा काम गर्नुपर्ने बताए।


उनका अनुसार ठमेलको पहिचान केवल होटल, रेस्टुरेन्ट र मनोरञ्जनमा सीमित छैन। सरसफाइ, सुरक्षा, आतिथ्यता र सेवाको गुणस्तरले नै ठमेलको अन्तर्राष्ट्रिय छवि निर्धारण गर्ने भएकाले यी विषयलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको छ।


‘मेरो मूल मन्त्र ‘अतिथि देवो भवः’ हो,’ बानियाँ भन्छन्, ‘नेपाल घुम्न आउने प्रत्येक पर्यटकले यहाँबाट सुखद अनुभव लिएर फर्किनुपर्छ। त्यसका लागि ‘सफा ठमेल, सुरक्षित ठमेल’ अभियानलाई व्यवहारमै लागू गर्न आवश्यक छ। परिषद्मा निर्वाचित भएपछि व्यवसायी, स्थानीय निकाय र सुरक्षा निकायसँग सहकार्य गर्दै ठमेललाई अझ व्यवस्थित, सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्य बनाउन सक्रिय भूमिका खेल्नेछु।’
बानियाँले अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानल अनुभवी, व्यवसायप्रति प्रतिबद्ध र परिणाममुखी टोली भएको दाबी गरे। परिषद्लाई थप पारदर्शी, सक्रिय र व्यवसायीमैत्री संस्थाका रूपमा विकास गर्दै ठमेलको पर्यटन प्रवर्द्धनमा नयाँ गति दिने विश्वास पनि उनले व्यक्त गरे।


आगामी असार २७ गते हुने निर्वाचनमा सक्षम, इमानदार र दूरदर्शी नेतृत्व चयन गर्न सदस्य व्यवसायीलाई आग्रह गर्दै बानियाँले आफ्नो प्यानललाई समर्थन गर्न अपिल गरेका छन्। उनका अनुसार व्यवसायीको एकता, पर्यटकप्रतिको सम्मान र ठमेलको समृद्धि नै आगामी कार्ययोजनाको मुख्य आधार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *