काठमाडौँ : राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सुनसरीको देवानगञ्ज लगायत पूर्वी तराई–मधेसका केही क्षेत्रमा भएका हिंसात्मक घटनाक्रमप्रति दुःख व्यक्त गरेका छन् ।
शुक्रबार सभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले घटनामा भएको मानवीय क्षति, सुरक्षाकर्मी र नागरिकको घाइते अवस्था तथा उत्पन्न सामाजिक तनावले सबैलाई चिन्तित बनाएको बताए ।
अध्यक्ष दाहालले राष्ट्रिय सभाका तर्फबाट घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।
नेपालको संविधानले बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधतालाई आत्मसात् गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले भने, ‘सामाजिक सद्भाव र सहिष्णुतालाई कमजोर पार्ने कुनै पनि प्रकारका हिंसा, घृणा र साम्प्रदायिक विभेदका प्रयासहरू राष्ट्रिय सभालाई किमार्थ स्वीकार्य छैनन्।’ उनले जस्तोसुकै असन्तुष्टि वा विवादको समाधान संविधान, कानुन र लोकतान्त्रिक संवादबाट मात्र सम्भव हुने बताए ।
अध्यक्ष दाहालले घटनाको तत्काल सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छानबिन गर्न, दोषीउपर कडा कानुनी कारबाही गरी पीडितलाई न्याय दिलाउन, पीडित परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न, भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रशासनिक र सुरक्षा सम्बन्धी प्रभावकारी उपाय अवलम्बन गर्न र घटनाको यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा विश्वासको वातावरण बनाउन सरकारलाई निर्देशन दिए ।
संवेदनशील घडीमा संयमता अपनाउन आग्रह गर्दै उनले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज र धार्मिक अगुवाहरूलाई सामाजिक एकताका लागि सक्रिय भूमिका खेल्न अपिल गरे ।
विशेष गरी सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई लक्षित गर्दै अध्यक्ष दाहालले अपुष्ट, भ्रामक र उत्तेजक सामग्री सम्प्रेषण नगर्न आग्रह गरे ।‘प्रमाणित र आधिकारिक सूचना मात्र सम्प्रेषण गरी शान्ति र भाइचाराको वातावरण निर्माणमा सहयोग पुर्याउन म सबैमा अनुरोध गर्दछु,’ उनले भने।
