६ हजार २०९ नमुनाको विषादी परीक्षण, सबै अनुकूल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा तरकारी, फलफूल तथा चामलका ६ हजार २०९ नमुना परीक्षण गरेको जनाएको छ। विभागका अनुसार परीक्षण गरिएका नमुनामध्ये कुनै पनि नमुना प्रतिकूल भेटिएको छैन।

विभाग तथा मातहतका प्रदेशस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरू र विभिन्न नाकामा रहेका खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमार्फत भदौ १ गतेदेखि ३१ गतेसम्म तरकारी, फलफूल तथा चामलमा जीवनाशक विषादी परीक्षण गरिएको हो।

विभागका अनुसार परीक्षणमा द्रुत विषादी परीक्षण विधि (RBPR) तथा ग्यास क्रोमाटोग्राफी मास स्पेक्ट्रोस्कोपी–मास स्पेक्ट्रोस्कोपी (GCMS-MS) विधि प्रयोग गरिएको थियो। कुल ६ हजार २०९ नमुनामध्ये ६ हजार २०७ वटा तरकारी तथा फलफूल र २ वटा चामलका नमुना रहेका छन्। परीक्षणको नतिजाअनुसार सबै नमुना अनुकूल पाइएको विभागले जनाएको छ।

यसैबीच, विभागले हालैको बाढीबाट प्रभावित परिवारका लागि उपलब्ध गराइने राहत खाद्य सामग्रीको समेत निरीक्षण तथा अनुगमन गरेको छ। भोटेकोशी बाढीपीडितका लागि पठाउन तयार पारिएका राहत सामग्रीको खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निरीक्षण गरिएको विभागले जनाएको छ।

भदौ १ गते गरिएको अनुगमनका क्रममा काठमाडौंको सामाखुसीस्थित राधास्वामी सत्सङ्गमा राहतका लागि तयारी अवस्थामा राखिएका उसिना चामल, भुजा, बिस्कुट, आयोनुनलगायतका खाद्य पदार्थको निरीक्षण गरिएको थियो।

अनुगमनका क्रममा ती खाद्य पदार्थको लेबलमा ब्याच नम्बर तथा उत्पादन/प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना उल्लेख भएको पाइएको विभागले जनाएको छ। राहत सामग्री वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) पालना गर्नसमेत निर्देशन दिइएको छ।

विभागले बाढी तथा अन्य प्राकृतिक विपद्का समयमा राहतका रूपमा उपलब्ध गराइने खाद्य सामग्रीको स्वच्छता तथा गुणस्तरमा विशेष ध्यान दिनुपर्ने जनाएको छ।

विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले जारी गरेको विवरणअनुसार राहत खाद्य सामग्रीको अनुगमन गरिएको स्थानको संख्या एक रहेको छ भने भदौ महिनामा गरिएको जीवनाशक विषादी परीक्षणको विवरण सार्वजनिक गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *