ठुलीभेरी, डोल्पा । ठुलीभेरी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम तथा रोजगार शाखाको आयोजनामा सञ्चालन गरिएको ५० दिने सीपमूलक तालिम आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ। नगर प्रमुख सुबर्ण कुमार बुढा ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन गरिएको हो।
“सीप सिकौं, रोजगार बनौं” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको तालिममा वडा नं. ७ र ८ का ४० जनाले सहभागिता जनाएका थिए। तालिमले स्थानीय तहमा सीपयुक्त जनशक्ति तयार गरी रोजगारी सिर्जना गर्ने उद्देश्य बोकेको थियो।
समापन समारोहमा बोल्दै नगर प्रमुख बुढा ज्युले बाँकी वडाहरूमा पनि यस्ता सीपमूलक तालिमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्दै भने, “कुनै न कुनै माध्यमबाट सम्पूर्ण जनशक्तिलाई परिचालन गर्न सकेमा समाज र राष्ट्र दुवैमा बेरोजगारी घट्नेछ र रोजगारीको अवसर सृजना भई देश विकासको गतिमा टेवा पुग्नेछ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकाया, वडा नं. ७ का अध्यक्ष धुर्ब बिक्रम शाही, वडा नं. ८ का अध्यक्ष मनराम ठकुल्ला, नगरपालिकाका सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख रत्नबिर कठायत लगायतका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
उक्त तालिमले सहभागीहरूलाई व्यावसायिक सीप प्रदान गरी आत्मनिर्भर बन्ने दिशामा टेवा पुर्याउने विश्वास गरिएको छ। नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै निरन्तरता दिने जनाएको छ।
